
हाम्रो समाजमा गिद्ध नामको एक पंक्षीलाई लिएर अनेक खालका उखान, प्रतीक र बिम्बहरूको निर्माण हुने गरिएको पाइन्छ । ती जम्मैमा गिद्धलाई हिंस्रक र नकारात्मक अर्थमा लिइएको देखिन्छ । तर गिद्ध आफैले कहिल्यै शिकार गर्दैन, हिंसा पनि गर्दैन र अहिंस्रक हुन्छन् । केबल मरेका प्राणीको मासु खान्छन् अर्थात् खानकै लागि कुनै जीवलाई मार्दैनन् ।
हिंसा नै नगर्ने गिद्धलाई हिंस्रक प्राणीका रूपमा त लियो लियो, साथै फोहरी र घिनलाग्दो चराको रूपमा चित्रण पनि गरिदियो । तर वातावरणीय सरसफाइका दृष्टिले यसलाई प्रकृतिका कुचीकार पनि भन्न सकिन्छ । गिद्धलाई हेर्दा पनि खासै डरलाग्दो वा हिंस्रक देखिन्न बरु शान्त र अबोध मुखमुद्रामा हुन्छन् । आकासमा कावा खाँदै गर्दाको दृष्यले त मनमा प्रीतिको भाव नै सिर्जना गरिदिन्छ । यसको अहिंसात्मक स्वभावलाई ध्यानमा राखेर बौद्ध धर्ममा यसलाई शुद्ध पंक्षीका रूपमा लिइएको छ । यस पंक्षीका बारेमा जनमानसमा धेरै थोरै मात्र जानकारी रहेको, विभिन्न कारणले यसको अस्तित्वमा नै संकट आएको तथा बौद्ध दृष्टिकोणबाट यसलाई बेग्लै रुपमा पनि चिन्न सकिन्छ । गिद्धलाई उदाहरणका रुपमा लिएर बौद्ध धर्म–दर्शनको अहिंसा सम्बन्धी धारणालाई थप स्पष्ट पार्न सकिने भएर पनि यहाँ यसको चर्चा सान्दर्भिक हुन्छ ।
बौद्ध धर्मको अभ्यासका क्रममा दैनिक पालना गर्नुपर्ने न्यूनतम शीलमा पहिलो कुनै पनि प्राणीको ज्यान नलिने हो । यो समाजमा हत्याहिंसालाई बर्जिन नै गरिएको छ । तर मांशाहारी भोजन भने बर्जित होइन । मन लागे खाउ, मन नलागे नखाउ, खाने–नखाने व्यक्तिको सोच वा रुचीमा छाडिएको छ । तर ध्यान दिनुपर्ने एउटा कुरा छ, मांशाहारी भोजनमा निश्चित प्रावधान निर्दिष्ट गरिएको छ । यो प्रावधानले ‘प्राणी हिंसा नगरी मासु कसरी प्राप्त हुन्छ त ?’ भन्ने प्रश्नको जवाफ दिन्छ अर्थात् साकाहारी र मांशाहारीका सम्बन्धमा बौद्ध मान्यता यसमा निहित छ ।
शाकाहारी भोजन गर्नेका लागि त कुरै भएन, मांसाहारी भोजन गर्ने व्यक्तिले भने ‘त्रिकोटी परिशुद्ध मांश’को प्रावधान कडाइका साथ पालना गर्नु पर्दछ । मासु खानका लागि कुनै जीवको हत्या गर्न वा गराउन पाइँदैन । हत्या हुँदै गरेको दृष्य नदेखिएको हुनुपर्दछ । यस्तै गरी आफ्ना निमित्त भनी हत्या गरेको कुरा थाहा नपाइएको अवस्थाको मासुलाई ‘त्रिकोटी परिशुद्ध मांश’ भनिन्छ । त्रिकोटी परिशुद्ध मांशको भोजन स्वयं गौतम बुद्धबाट पनि हुने गरेका प्रसङ्गहरू बौद्ध साहित्यमा पाइन्छन् । मासु खानु नै पर्दछ वा खानु नै हुँदैन भन्ने दुई कडा नियमबाट अलग्ग रही बुद्धले मध्यम मार्ग अपनाएको भनेर बुझ्न सकिन्छ । मुख्य कुरा, बौद्धका लागि मांश अन्यजस्तै एक भोज्य पदार्थ मात्र हो तर त्यसमा हिंसा भावरहित हुनुपर्दछ । त्यसरी नै गिद्धको आँखा सिनोमा भएपनि उसँग हिंसाभाव रहेको हुँदैन । चित्त हिंसात्मक हुँदैन । यही भएर गिद्धलाई शुद्ध पंक्षीका रूपमा लिइएको हो ।
सिनोले वातावरण प्रदूषित मात्रै पार्दैन, दुर्गन्धित बनाउनुका साथै रोगव्याधी पनि फैलाइदिन सक्छ । तर त्यही सिनो खाइदिएर गिद्धले वातावरणलाई स्वच्छ पारिदिन्छ । यही भएर यसलाई प्रकृतिको कुचिकार पनि भनिन्छ । यसले गर्दा गिद्ध पर्यावरणीय चक्र संचालन, खाद्य शृंखलाको सन्तुलन र गतिशीलताको संवाहक पनि भइदिएको छ । सिनो सफाइको हिसाब कितावअनुसार कूल खर्चमा एक गिद्धले ११ हजार अमेरिकी डलर बराब योगदान पु¥याउने हुन्छ । यो बाहिरको बजार मूल्य हो तर यसको आधारमा पनि भन्न सकिन्छ, गिद्धलाई उपेक्षा गर्न मिल्दैन ।
भनिन्छ, सन् १९८० को दशकमा नेपालमा विभिन्न प्रजातिका गरी १० देखि १६ लाख गिद्ध रहेकोमा आज २० हजार पनि पुग्दैन । गिद्धको संख्या कति तीब्र दरमा घटिरहेको भन्ने कुरा यसले जनाउँछ । अझ एउटा अर्को सर्वेक्षणले त भयावहपूर्ण अवस्था दर्साउँछ । सन् २००२ देखि २०११ सम्मको पूर्व–पश्चिम राजमार्गमा गरिएको सर्वेक्षणमा डंगर गिद्ध ९१ प्रतिशत र सानो खैरो गिद्ध ९६ प्रतिशतले घटेको छ । संरक्षणका दृष्टिले यो अर्को भयावहपूर्ण अवस्था हो । यही भएर आइयूसीएनले नेपालमा भएका ९ प्रजातिका गिद्धमध्ये ४ प्रजातिलाई अति संकटापन्न सूचीमा राखेको छ ।
गिद्धको संख्या घट्नु प्राकृतिक नभएर अप्राकृतिक विनाशको रूपमा लिइन्छ । डाइक्लोफेनेक औषधिको प्रयोग गरी उपचार गराइएका घर पालुवा पशु निको भएपनि त्यसको असर उसको शरीरमा रहिरहने र मरेपछि त्यसको मासु खाँदा गिद्धको स्वास्थ्यमा असर पार्ने गरेको पाइयो । यो असरले सोझै गिद्धको मृगौलामा क्षति पु¥याउने गर्दछ । गिद्ध समूहमा बस्छन् र सामूहिक रूपमा नै खानपान गर्दछन् । डाइक्लोफेनेकको असर एकै पटक सबैमा पर्न जान्छ । यही भएर गिद्धको संख्यामा यति धेरै तीब्र गतिमा ¥हास आएको हो ।
विभिन्न रिपोर्टअनुसार आजभोलि गिद्धको विनास क्रम रोकिएको छ, यो खुसीको कुरा हो । तर यो खुसीको कुरा त्यत्तिकै आएको भने होइन । गिद्धको संख्यामा आइरहेको ह्रासले सबैलाई झस्काइदियो र संरक्षणको आवश्यकताबोध हुनुका साथसाथै जनचेतना बढाउने काम पनि भयो । यसका लागि सरकारी निकाय, संरक्षणकर्मी, समुदाय र सरोकारवाल निकायहरूले सामुहिक प्रयासले राम्रो नतिजा ल्यायो ।
गिद्ध संरक्षणका लागि नेपाल सरकारले २३ जेठ, २०६३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिबन्ध लगाएर मेलोक्सिक्यामको उत्पादन र प्रयोग बढायो । साथै, गिद्धलाई शुद्ध आहार उपलब्ध गराउन स्थानिय स्तरमा जटायु रेस्टुरेन्टहरू खोल्ने काम भयो । यो भनेको किसानहरूबाट वृद्ध, अशक्त र बेकामी गाईवस्तुहरू संकलन गरी पालनपोषन गर्ने तथा तिनीहरूको प्राकृतिक मृत्युपछि निश्चित स्थानमा गिद्धको आहारको लागि राखिदिने काइदा हो । नवलपरासीको पिठौलीमा सुरु गरेको यस खालको रेस्टुरेन्ट पछि दाङको लालमटिया र बिजौरी, रूपन्देहीको गौडहवा ताल, कैलालीको खुटिया, कास्कीको घाचोक र सुनसरीको कोशीटप्पुमा विस्तार गरियो । यी रेस्टुरेन्टहरू खुल्नाले गिद्धका विभिन्न प्रजाति चिन्ने, तिनको आनिबानी र क्रियाकलापको अध्ययन गर्ने तथा प्रकृति बुझ्ने अवसर अध्येताहरूलाई मिल्यो ।
गिद्धको संरक्षणका लागि नेपाल सरकारले लागू गरेको ‘गिद्ध संरक्षण कार्ययोजना सन् २००९–२०१३’ को सफलतापछि दोस्रोे पञ्चवर्षीय योजना सन् २०१५–२०१९ को कार्यान्वयनमा राष्ट्रिय निकृञ्ज तथा वन्यजन्तु संरक्षण विभागसँग गिद्ध संरक्षण सोझेदार संस्था र समुदायले काम ग¥यो । चितवन राष्टिय निकुञ्जको कसरामा रहेको गिद्ध संरक्षण तथा प्रजनन केन्दको कृत्रिम वातावरणमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने काम पनि भइरहेको छ ।
बौद्ध धर्म–दर्शनले पर्यावरणको महत्वमा पनि जोड दिएको पाइन्छ । गिद्ध मात्रै होइन, किराफट्याङरा लगायत सबै जीवजन्तुको संरक्षणमा जोड दिन्छ । गिद्धको अस्तित्वमा नै संकट आएको कुरा समयमै ध्यान दिएर यसको संरक्षणको कार्यमा सरकारी तथा निजी क्षेत्र लाग्नु प्रशंसनीय कुरा हो । बुद्धको शिक्षाले मान्छेलगायत सबै प्राणीलाई समान रूपमा हेर्दछ । सबैप्रति करुणाभाव राख्नलाई सुझाउँछ । यसको अर्थ हो, पृथ्वी मान्छेका लागि मात्र होइन, सबैका लागि हो र सबैको साझा धरती हो । वासस्थानको विनाश, आहारको कमी, सिनोमा प्रतिकूल औषधि र विद्युतीय तारका कारण गिद्धको अस्तित्वमा नै असर पर्नु गिद्धको मात्रै समस्या नभएर ‘इको सिस्टम’ अनुसार सबैको समस्या हो । एक प्रसंगमा अहिंक कसलाई भन्ने सन्दर्भको प्रश्नमा बुद्धले जवाफ दिएका थिए, जो शरीर, वचन र मनले कसैको हिंसा गर्दैन, जो अरुलाई सताउने काम गर्दैन, त्यसलाई अहिंसक भनिन्छ । गिद्ध पनि अहिंसक हो । मांशाहारका सम्बन्धमा बौद्ध अवधारणालाई बुझाउन प्राकृतिक रूपमा नै कसैको हिंसा नगर्ने गिद्धलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
Very insightful reading…! Thank you Basant sir for sharing…! I will share this as reference material during my studies…!!