0 1 min 1 mth

नेपाल सम्वतका प्रवर्तक मानिएका शंखधर साख्वाःकाे मुहार चित्र भनेर जति पनि प्रकाशित हुन्छन्, फरक फरक पाइन्छन् । मूर्तिहरू पनि यही पारामा बनाइन्छन् । अाधिकारिक मुहार चित्र कुन हाे भन्ने प्रश्न उठ्नु स्वाभाविक हाे र याे महत्वपूर्ण प्रश्न पनि हाे । नेपाल सम्बतका प्रवर्त्तक शंखधर साख्वा: राष्ट्रिय विभूतिका रूपमा घाेषणा भइसकेकाे र नेपाल सम्बतले पनि राष्ट्रिय मान्यता पाइसकेकाे अवस्थामा शंखधरकाे मुहार चित्र मात्रै नभएर अन्य कुराहरूकाे पनि जवाफ खाेज्नु स्वाभाविक हाे । तर याे सम्बतलाइ वर्तमान परिवेशमा याे अवस्थासम्म ल्याइपुर्याउने काममा एउटा सिंगाे जीवन अर्पिसकेका अभियन्ताहरू समेत अलग अलग मुहार चित्र प्रस्तुत गरिरहेका छन् ।

शंखधर साख्वाःकाे भनी पहिचान गरिएकाे पहिलाे शिलामूर्ति । याे मूर्ति पशुपतिनाथ मन्दिर परिसरमा रहेकाे छ ।

नेपाल सम्बतसँग शंखधरकाे नाम जोडिए पनि ती श्रोतहरु वंशावली तथा किम्वदन्तीहरुमा नै सीमित थियो । ऐतिहासिक प्रमाणको अभावमा थुप्रै प्रश्नहरु तेर्सिएको र विवादकै विषयवस्तु भइरहेको अवस्थामा भक्तपुरकाे जेलाटाेलस्थित फल्चामा शिलालेख नै भेटिएपछि ती प्रश्न वा विवादहरुले निकास पाएको थियो, अर्थात् यिनी पनि ऐतिहासिक नै हुन् भन्ने प्रमाणित भयो । कुनै एउटा सम्बतकाे प्रयाेग वा त्यसअनुसारकाे नयाँ वर्षलगायतका कार्यक्रमहरूमा त्यस सम्बतकाे सुरू गर्ने व्यक्तिकाे पनि चर्चा गरिरहनु विश्वमा कमै मात्र अभ्यास पाइन्छ । तर नेपाल सम्बतकाे सन्दर्भमा अलि बेग्लै छ । नेपाल सम्बतकाे सुरूवात बेग्लै ढंगले भएकाे र त्यसमा सामाजिक तथा आर्थिक क्षेत्रमा शंखधरकाे याेगदानलाई ध्यानमा राखिएकाे पाइन्छ ।

शंखधर साख्वाःको मुहार भनी अनेकौं तस्वीरहरु बजारमा पाइन्छन् । बेग्लाबेग्लै मुहार वा अाकृति प्रस्तुत गर्ने यी तस्वीरहरूले सर्वसाधारणलाई अलमलमा पार्नु स्वाभाविक हाे । यसमा कसैको नियन्त्रण छैन । जसलाई जस्तो मन लाग्यो त्यस्तै मुहारका चित्रहरु बनाई बजारमा ल्याउने कार्य जारी छ ।

पशुपतिनाथ मन्दिर परिसरमा अवस्थित एक अज्ञात मूर्तिलाई नै शंखधरको मूर्ति मान्नेहरु पनि पाइन्छन् । तर याे मूर्तिलाइ के कति कारणले शंखधरकाे भनियाे, खुल्दैन । वास्तवमा याे अन्य मूर्ति हाे र यसलाइ शंखधरकाे मूर्ति भन्नु अभियन्ताहरूकाे साेच मात्रै हाे,

एेतिहासिक प्रमाण-प्रमेयकाे अाधारमा दावी गरिएकाे हाेइन । उक्त मूर्तिको  अनुहारसँग पनि प्रचलित तस्वीरहरु मिल्दैनन् । त्यही मूर्ति पनि यिनकै हो भन्ने बलियो आधार उपलब्ध छैन ।आधिकारिक संस्थाहरुले प्रचलनमा ल्याउने तस्वीर तथा मूर्तिहरु नै पनि एक अर्कोसँग मेल खाँदैन । के कति कारणले त्यो नयाँ अनुहारलाई अगाडि सार्नु परेको भनेर जवाफ दिने दायित्व पनि पूरा गर्दैनन् ।

नयाँ वर्षकाे उपलक्ष्यमा निकालिएकाे शुभकामना सांस्कृतिक र्याली

विश्वमा काल गणनाका लागि थुप्रै सम्बतहरू प्रचलित छन् । कतिपय सम्बतहरू कालकबुलियत पनि भएका छन् । प्रच लनमा रहेकामध्ये एउटा नेपाल सम्बत पनि हाे । नेपालकाे इतिहासमा काल गणनाकाे एउटा अाधार नेपाल सम्बत पनि रहेकाे छ । नेपाल सम्बतभन्दा अघिकाे काललाइ प्राचीनकाल र नेपालसम्बतकाे सुरूवातबाट मध्यकाल सुरू हुन्छ । नेपाल सम्बतभन्दा अघि पनि नेपालबाटै सुरू भएका केही सम्बतहरू थियाे तर ती चलनचल्तीबाट हराएर पुनः नेपालबाटै नेपालसम्बतकाे प्रचलन सुरू भएकाे हाे । तर याे सम्बत सुरू भएकाे लामाे समयपछिका मात्रै एेतिहासिक स्राेतहरू पाइएका छन्, भविष्य प्राप्त हुनसक्ने संभावनाहरू पनि नभएकाे हाेइन । नेपाल सम्बतकाे प्रचलन राज्यस्तरबाट हटाउने काम अाधुनिक नेपालकाे सुरूवातसँगै भएकाे पाइन्छ । गाेरखाका राजा पृथ्वीनारायणा शाहकाे राज्य विस्तारबाट अाधुनिक नेपालकाे निर्माणपछि पश्चिमतिर प्रचलित शक सम्बतकाे प्रचलन भयाे । याे शक सम्बत प्राचीन नेपालमा पनि प्रचलनमा नै रहेकाे तर भारतीय भूमिबाट थालनी भएकाे एउटा सम्बत हाे । शक सम्बतलाइ पनि बन्द गरी पछि राणा कालमा विक्रम संवतलाइ ठाउँ दिएकाे हाे । तर नेपाल सम्बत राज्यकाे प्रचलनमा नरहेपनि जनस्तरमा भने कायम नै थियाे । प्राचीन भनुँ वा मध्यकालिन नेपाल, त्यसकाे इतिहास मुलतः नेवार समुदाय रहेकाे छ । यसअनुसार नेपाल सम्वतलाइ अाफ्नाे दैनिक जीवनकाे अभिन्न पक्षका रूपमा अंगीकार गरिराख्नु स्वाभाविक हाे । राणा कालमा नै पनि संगठित रूपमा नेपाल सम्बतअनुसार नयाँ वर्ष मान्न ठालेकाे पाइन्छ । त्यही अनुसार पंचायत कालमा नेपाल सम्बतलाइ नेपालकाे राष्ट्रिय सम्बतका रूपमा मान्यता पाउनु पर्ने मागसहित अान्दाेलन नै भयाे र यसकाे नेतृत्व स्वयं नेवार समुदायबाट भयाे । हाल नेपाल सम्वतले राष्ट्रिय सम्वत र यसका प्रवर्तक शंखधर साख्वाले पनि राष्ट्रिय विभूतिका रूपमा मान्यता पाइसकेकाे अवस्था छ । शंखधरका नाममा विद्यालयकाे पाठ्यक्रममा पनि पठाइन्छ । तर शंखधरकाे नाममा प्रयाेग गरिने अनुहार चित्रहरूमा एक रूपता भने छैन ।

प्रत्येक वर्ष शंखधरकाे मुहार चित्र भनेर नयाँ नयाँ अाकृतिलाइ अगाडि सार्नु इतिहासकाे एउटा पक्षलाइ हलुका रूपमा लिनु हाे । कुनै ठाेस वा एेतिहासिक अाधार नभएकाे अवस्थामा व्यावहारिक प्रयाेगका लागि एउटालाइ सर्वसम्मतबाट कायम गर्नु पर्दछ । अलग अलग मुहार चित्र प्रस्तुत गर्नुकाे न कुनै अाैचित्य छ न त्यसमा कुनै दावी नै पाइन्छ । अब यस्ताे प्रवृत्तिकाे विराेध गर्नु पर्ने अवस्था छ ।

(लेखकका बारेमा थप जानकारीका लागि यहाँ क्लिक गर्नु हाेला)

Leave a Reply

Your email address will not be published. Required fields are marked *