1 1 min 1 mth

काठमाडौंस्थित स्वयम्भू महाचैत्यको निर्माणदेखि आजसम्मको उल्लेख्य जीर्णोद्धारहरूको गणना गर्दा चौंधौं पटकको जीर्णोद्धार हालसम्मको पछिल्लो हो । उक्त जीर्णोद्धार कार्य सम्पन्न भएको पनि सय वर्ष पुग्यो । त्यस बेला जीर्णोद्धार कार्यको जिम्मा पाउने प्रमुख व्यक्ति धर्ममान तुलाधरको परिवारजनबाट १९ अक्टोवरको दिन सय वर्ष पुगेको सन्दर्भमा स्वयम्भू परिसरमा विशेष पूजा गरेर शतवार्षिकी सम्पन्न ग¥यो । सो कार्यक्रममा थोरै आमन्त्रितमा म पनि एक थिएँ ।

स्वयम्भू महाचैत्यकाे जीर्णाेद्धार कार्य हुँदै

पूजा त मुख्य कुरा भइहाल्यो, साथैसाथै त्यस बेला एकआपसमा इतिहास र तत्कालीन सामाजिक तथा सांस्कृतिक विषयमा पनि स्वभाविक रूपमा चर्चा भयो । यो चर्चालाई नेपाली समाजमा व्यापक बनाउनु पर्ने आवश्यक छ ।

सय वर्षअघि स्वयम्भू महाचैत्यको हर्मिकाभन्दा माथि त्रयोदश भूवनका रूपमा रहेका चक्रावलीहरू उत्तरदिशातिर ढल्केको थियो । यो ढल्काइ तिब्बतको ल्हासादेखि माथि खामदो भनिने ठाउँमा बस्ने महासिद्ध गुरु शाक्यश्रीले पनि थाहा पाएछन् । यो अशोभनीय ढल्काई उनलाई मन परेन । सम्पदा क्षेत्रमा मानवीय क्रियाकलाप तथा प्राकृतिक प्रकोपहरूबाट यस्तो क्षती हुँदै गर्ने भएकाले बेलाबेलामा मर्मत तथा जीर्णोद्धारका कार्यमा ध्यान दिनु पर्दछ । स्वयम्भू महाचैत्यमा भने समयमा नै ध्यान जान सकेको थिएन । महासिद्धले स्वयम्भू महाचैत्यको जीर्णोद्धार गर्ने संकल्प गरे । यसअनुसार आफ्ना शिष्यहरूलाई निरीक्षण गर्न पठाए । यसरी नै जीर्णोद्धार कार्यको जिम्मा ‘धमां साहु’को नामबाट प्रसिद्ध काठमाडौं निवासी धर्ममान तुलाधरलाई दिइयो । धमां साहु तिब्बतको विभिन्न ठाउँमा कोठी संचालन गर्ने ठुलो ल्हासा व्यापारी मात्रै नभएर स्वयं बौद्ध साधक र उनै महासिद्धका शिष्य पनि थिए ।

जीर्णोद्धार कार्यका लागि तीन प्रकारको लगत इष्टिमेट तयार भयो । बाइस, छत्तीस र पचहत्तर हजारको इष्टिमेटमा महासिद्ध शाक्यश्रीको रुची पछिल्लो लगत इष्टिमेटमा प¥यो । यसको लागि आर्थिक भार कसले बहन गर्ने ? स्वयम्भू महाचैत्यको जीर्णोद्धार पुण्य संचयको एउटा राम्रो अवसर हो । यो अवसर सबैले पाउन भनेर जनस्तरबाट चन्दा संकलन गर्ने निर्णय भयो । यसका लागि ‘तालो दावा धाङ्पोही छेश्यार’ को दिन आफ्ना शिष्यहरूलाई आह्वान गरे । यो आह्वानअनुसार प्राप्त नगद तथा जिन्सीबाटै जीर्णोद्धार कार्य लगभग सम्पन्न हुने देखियो । यो भन्दा अगाडि नै धमां साहुले असन धालसिको टोलका साहु रामसुन्दरसँग सल्लाह गरेका थिए र जीर्णोद्धार कार्य थाल्न र सम्पूर्ण खर्चमध्ये एक तिहाई खर्च आफूबाट व्यहोर्ने बचन प्राप्त भइसकेको थियो । धमां साहु आफैले पनि साठी हजारभन्दा बढी चन्दा हालेका थिए । यस बाहेक नेपालमै अन्य सर्वसाधारणबाट पनि चन्दा संकलन भयो । यो धनराशी सम्पूर्ण जीर्णोद्धार कार्यका लागि पर्याप्त भइसकेको थियो ।

जीर्णाेद्धार अघि बनाएकाे चैत्यकाे त्रयाेदश भूवनकाे नमूना

जीर्णोद्धार कार्यका लागि महाचैत्यको निरीक्षण गर्दा स्वयम्भू महाचैत्यको गर्भगृहभन्दा माथि हर्मिका र त्रयोदशी भुवनमा मात्रै काम गर्नु पर्ने रहेछ । त्रयोदशी भुवनका लागि गर्भगृहबाटै उठाइने यःसिं (यष्टी) मा केही खराबी आइसकेको थिएन । यो यःसिं पछिल्लो पटक राजा पृथ्वीनारायण शाहका पनाति राजा राजेन्द्रविक्रम शाहको शासनकालमा फेरिएको थियो । जीर्णोद्धारका लागि न्यास झिक्नेदेखि पुनः राखेर कार्यसम्पन्न गर्ने बेलासम्ममा अनेकौं पूजाविधि सम्पन्न गर्नु परेको थियो । कार्य सम्पन्नताका लागि महासिद्ध शाक्यश्री तिब्बतमा नै बसी साधना गरिरहेका थिए भने कामको रेखदेख गर्न आफ्ना तीनै जना छोराहरूलाई यहाँ पठाइएको थियो । यसरी नै अन्य सिद्ध गुरुहरूको आगमन गराइएको थियो ।

चैत्यको गर्भगृहमा अनेक कुराको निधान गर्ने परम्परा हुन्छ । स्वयम्भू महाचैत्यको निर्माणदेखि पछिल्लो जीर्णोद्धारसम्ममा अनेकौं श्रद्धालु दाताहरूले बहुमूल्य रत्न तथा अनेकौं कुराहरू चढाइएकोमा सबैलाई यथावत् नै राखी अब तिब्बत तथा नेपालबाट नै प्राप्त कुराहरूलाई पनि गर्भगृहमा राख्ने काम भएको थियो । यसरी नै यस अघि वैरोचन बुद्धको मूर्ति सानो मात्रै थियो, यही अवसरमा मूर्तिलाई ठुलो बनाउने काम भयो । दुई ताराको अवस्थिति मिलेको थिएन, मिलाउने काम भयो । ताराको हस्तमुद्रा पनि उल्टो भइरहेको थियो र सुल्टो पारियो । यी सम्पूर्ण कार्यका लागि जनसहभागिता व्यापक रूपमा परिचालन गरिएको थियो ।

स्वयम्भू महाचैत्यको चौधौं पटकको जीर्णोद्धार ऐतिहासिक घटना त हो नै, साथसाथै उपासक उपासिकाहरूमा अपूर्व श्रद्धा पनि रहेको ज्वलन्त उदाहरण हो । चन्दा संकलनका लागि स्वयं महासिद्ध शाक्यश्री विभिन्न ठाउँको भ्रमण गर्थे । शिष्यहरूलाई पनि चन्दा संकलनका लागि विभिन्न ठाउँहरू पठाए । पोताला दरवारबाट दश हजार रूपैया प्राप्त भएको थियो । भुटानमा पण्डित शेराव दोर्जे (ढुक्पा लामा) को नेतृत्वमा संकलित चालीस हजार भारतीय रूपैया भुटानी राजा देवाधर्म उग्र्येन वाङ्छुयबाट प्राप्त भयो । यसरी नै सिक्किमी राजाबाट पनि सात हजार प्राप्त भएको थियो । यसरी स्वदेश तथा विदेशबाट संकलित नगदबाट स्वयम्भू महाचैत्यको जीर्णोद्धारका साथै वरिपरि रहेका अनेकौं सम्पदा स्थलको पनि मर्मत संभार गरिएको थियो । स्वयम्भू महाचैत्यको दायाँबायाँ रहेका राजा प्रताप मल्लद्वारा निर्मित शिखर शैलीका प्रतापपुर र अनन्तपुरको पनि जगसम्मै भत्काएर जीर्णोद्धार गर्न संभव भएको थियो । सम्पूर्ण काम सम्पन्न गरेर पनि बाँकी रहेको धनराशीबाट खास्ति महाचैत्य र नमोबुद्ध चैत्यको जीर्णोद्धार कार्य सम्पन्न गरिएको थियो । जीणोद्धार कार्य सन् १९१८ मा थालिएको थियो भने सम्पन्न हुन तीन वर्ष लाग्यो ।

ऐतिहासिक तथा धार्मिकस्थल स्वयम्भू महाचैत्यको महत्तालाई ध्यानमा राखेर युनेस्कोले यसलाई विश्व सम्पदा सूचीमा राखेको छ । यसको दर्शनका लागि यहाँ दिनहुँजसो श्रद्धालु उपासक उपासिका तथा पर्यटकको घुइँचो लागिरहेको हुन्छ । वास्तवमा स्वयम्भू महाचैत्य विश्वकै लागि नेपालको ‘आइकन’ हो । यसको पछिल्लो जीर्णोद्धार कार्य सम्पन्न भएको सय वर्ष पुग्नु पनि एक ऐतिहासिक सन्दर्भ हो । तर यो सन्दर्भका सवालमा नेपाली समाजले हेक्का राख्नै नसकेको देखियो । कैयौं दिनअघिदेखि यसको प्रचारप्रसार तथा तयारी कार्य गरी सेमिनार, गोष्ठी तथा अन्य कार्यक्रमहरूका साथै ठुलै उत्सव मनाउन सकिन्थ्यो । तर, यस दिन स्वयम्भू महाचैत्य परिसरमा धमां साहु अर्थात् धर्ममान तुलाधरका शाखा सन्तानहरू मात्रै भएपनि जम्मा भएर पूजा कार्य सम्पन्न गरे । जीर्णोद्धारको शतवार्षिकीको अवसरमा पूजा भइरहेको भन्ने सन्देश दिने कुनै संकेत त्यहाँ थिएन । सहभागीहरूले बाहेक अरुले सायदै थाहा पाए । यहाँ विभिन्न खालका पूजाहरू दिनहुँजसो भइरहेको हुन्छ र यहाँ आउनेमध्ये धेरैलाई लाग्दो होला, अनेकौं पूजामध्ये यो पनि एउटा त्यस्तै होला ।

पूजाका अवसरमा तुलाधर परिवारले स्वयम्भू महाचैत्यको पूर्वस्थित सत्तलमा महासिद्ध शाक्यश्रीको पनि तस्वीर प्रदर्शनीमा राखेको थियो । संयोगवश यस दिन उनै महासिद्धका एक जना नाती स्वयम्भू महाचैत्यमा घुम्न आएका थिए र आफ्नो हजुर बाको तस्वीर देखेर छक्क परे । गुरु–शिष्यका सन्तानहरूको भेट यस दिन भयो ।
स्वयम्भू जीर्णोद्धारको शतवार्षिकी समारोह राज्यस्तरबाटै हुनसकेको भए अझ राम्रो हुन्थ्यो, स्वयम्भूको ऐतिहासिकता अझ उजिल्याउन सकिन्थ्यो । साथसाथै यसबाट नेपाली इतिहास र संस्कृतिमा विद्वतवर्गदेखि सर्वसाधारणसम्मको पनि ध्यानाकर्षण गर्न सकिन्थ्यो । यसैको माध्यमबाट पर्यटकीय गतिविधि पनि बढाउन सकिन्थ्यो । तर यो मौकालाई छोप्न नसकेको अनुभव भयो ।

लेखकका बारेमा थप जानकारी basantamaharjan.com.np

One thought on “स्वयम्भू महाचैत्य जीर्णोद्धारको शतवार्षिकी

  1. सारै महत्वपुर्ण जानकारीमुलक लेख बसन्त सर को पढन पाउदा अहोभाग्य भए I उहाँका सबै लेख ज्यादै राम्रा हुन्छन I स्वयम्भु सम्बन्धमा हाल सम्म कुनै सभा सम्मेलन भएन I आएको सो मौका सजिलै टार्योऊ I बिदेशमा यसको चर्चा, सभा भए होलान तर त्यहि भएन I नेपालीले यसबारे बुझने सकेन I हाल पनि मौका छ I महाचैत्य र यसको आसपास एवं बन छेत्रको उत्तरोउन्नति गर्न अझ मेहनत गर्नु पर्छ I यहाँ को रितिरिवाज मौलिकता समाजले बुझ्न बाँकि छ I प्रचार प्रसार र पर्यटकीय गतिबिधि बडाउनु छ I मौलिकतामा आच आउने भौतिक रचना रोक्नु पर्छ I सबै मिल्नु पर्ने छ I सरकारलाई वास्ता छैन I

Leave a Reply

Your email address will not be published. Required fields are marked *