2 1 min 3 mths

पश्चिम नेपालको रुकुम जिल्लाको दुर्गम गाउँ लुकुम तथा वरपरिका गाउँहरूमा बिहान नास्ता भनेर पाहुनालार्ई स्वागत गर्ने कुरा हो, रक्सी । गाउँलेहरू पनि नास्ता भनेर त्यही सुख्खा रक्सी खान्छन् । खाम मगरहरूको बाहुल्य रहेको यस क्षेत्रमा खाइने त्यो रक्सी पातलो (कम लाग्ने) त हुन्छ तर दिनमा पटक पटक त्यही खाइरहँदा साँझ सम्ममा नशा लागि सक्छ । गाउँमा जे पर्दा पनि झाँक्री लगाउने गरिन्छ र समाजमा तिनीहरूको उच्चसम्मान हुन्छ । विभिन्न मन्त्र पढ्दै र ढ्वाड्ग्रो ठटाउँदै उनीहरू तालमा ताल मिलाउँदै बडो कलात्मक पाराले नाच्छन् । नाच्नुभन्दा अघि र पछिको वातावरण हेर्ने हो भने लाग्छ,  जाँड र रक्सी (मदिरा) नहुदो हो त गाउँमा झाँक्री प्रथा नै हुन्न कि । मदिराको प्रयोगलाई बडो महत्वका साथ लिइने यो प्रचलन साना बालकालिकाहरूले सानै उमेरदेखि देखिरहेका हुन्छन् र उनीहरूले समाजबाट बुझ्ने भएदेखि नै सहज रूपमा सिकिरहेका हुन्छन् ।

लुकुम गाउँ मात्रै होइन, त्यसभन्दा बाहेक अन्य गाउँ ठाउँमा पनि मदिराको प्रचलन उत्तिकै पाइन्छन् । मगर समुदायको मात्रै पनि कुरा होइन, त्यसका छिमेकी जातजातिहरूमा पनि यस्तै छ । पूर्वी नेपालमा बाहुल्य भएका राई समाजमा कसैकसैमा त मान्छे मर्दा उसको शरीरमा एक बोतल रक्सी राखेर मात्रै शव यात्रा गरिन्छ । मरेर गए पनि उनले रक्सी खान पाऊन् भनेर यसरी शवसँगै रक्सीको बोतल राखेर पठाउने चलन रहेको बताइन्छ । जाँडको प्रचलन पनि उत्तिकै देखिन्छ । सामाजिक जनजीवनमा मदिराकोे यो अत्यधिक प्रचलनलार्ई संस्कृतिसँग जोडेर व्याख्या गर्ने गरेको पाइन्छ ।

नेपाली समाजलाई तागाधारी र मतवाली भनी दुई वर्गमा विभाजित छ । मदिरा पटक्कै नचल्ने र सात्विक हुनेहरू तागाधारी र मदिरा खानेहरू मतवालीका रूपमा चिनाइन्छ । आफ्नो त जातैले दिएको भनी दिनदहाडै र विहानैदेखि पनि मदिरा खाएर हिडेको देख्न पाइन्छ । अरु त अरु, अचेल कतिपय तागाधारी भनाउँदाहरू नै पनि मतवालीहरूलार्ई माथ गर्ने चरणमा पुगिसकेका छन् र यसैबाट नेपाली समाज मदिरामा कति चुर्लुम्मै डुबिसकेको छ भन्ने अनुमान हुन्छ ।

मदिरा सेवनलार्ई संस्कृतिसँग जोडेर व्याख्या वा तर्क गर्ने गरिएको पाइन्छ । यस सन्दर्भमा नेवार समुदायलार्ई उदारणको रूपमा लिन सकिन्छ । एक पल्ट मदिराको प्रयोगमा कडाइ गर्ने सम्बन्धी समाचारको विरोध गर्दै लब्धप्रतिष्ठित नेवार उद्योगपतिहरूले प्रतिक्रिया दिएका थिए– रक्सी भएन भने त हाम्रो संस्कृति नै रहन्न । हाम्रो संस्कृति नै नरहेपछि नेपाली संस्कृति भनेर के देखाउने ?’ उक्त भनाइ पत्रिकामा बडो महत्व दिएर प्रकाशित गरिएको थियो तर तिनीहरू आफ्नो क्षेत्रमा लब्धप्रतिष्ठित  भएपनि नेपाली समाज र संस्कृतिका सम्बन्धमा आधिकारिक ज्ञाता होइनन् भन्ने आधार स्वयं उनीहरूको अभिव्यक्ति हनु् । उनीहरूले आफ्नो जातीय समुदायको संस्कृति मात्रै नेपाली संस्कृति भनेर बुझेछन् र अर्को आफ्नो संस्कृति र रक्सीलार्ई एक अर्काको पूरकको रूपमा लिएछन् जुन सरासर गलत हो ।

नेवार समाजमा केही शुभ कर्म गरिँदा वा राम्रो होस् भनी सगुन दिने चलन छ । उसिनेको अण्डा र माछाका साथै रक्सी अर्पण गर्नु नै सगुन दिनु हो । बच्चाको अन्न प्रासन्नको बेलादेखि नै सगुन दिने गरिन्छ र सगुनमा रक्सी अनिवार्य मानिन्छ । यस कारणले पनि नेवार समाजमा रक्सी भन्ने कुरा अभिन्न नै हो कि भन्ने भ्रम पर्न जाने हुन्छ । यसरी नै देवी देवताको पूजापछि प्रसाद भनी समेबजि खाइन्छ । समेबजिका साथमा अय्लाः (रक्सी) खाने गरिन्छ । अरु त अरु, देवी देवताको पूजा गर्ने बेलामा मान्छेलार्ई जस्तै मूर्तिमा रक्सी चढाउने गरिन्छ अर्थात देवतालार्ई पनि रक्सी खुवाउने । भैरव लगायतका केही देवताको हातमा एउटा पात्र समाउन लगाइएको हुन्छ र त्यो पात्रमा जाँड रक्सी रहेको मानिन्छ । कुनै कुनै मूर्तिको पात्र अलग्गै हुन्छ र पूजा गर्नेहरू त्यसमा जाँड रक्सीले भरिदिने गर्दछन् । देवतासँग रक्सीलाई यति विधि सम्बन्धित गरेपछि आफूहरूले देवाताको प्रसादको रूपमा रक्सी पिएको  तर्क गर्छन् जुन तार्किक नभएर बहाना हो । धार्मिक अवसरबाहेक अन्य अवसरमा पनि जाँड रक्सी खाइन्छ र यति बेला गरिने मदिरा पानलार्ई समाजिक प्रतिष्ठाको रूपमा लिइन्छ । मदिरालार्ई समाजिक प्रतिष्ठाका रूपमा वा धार्मिक कृत्यका रूपमा देखाउँनु वास्तवमा एउटा बहाना मात्रै रहेको भनी बुझ्न अन्यत्र जानु पर्दैन, सोही समाजमा प्रचलित सामाजिक मूल्य मान्यतालार्ई पर्गेल्दा थाहा हुन्छ ।

नेवार समाजमा प्रचलित बज्रयानी बौद्ध धर्मअनुसार तान्त्रिक पूजा पाठ वा साधना गरिन्छ । तान्त्रिक साधना गर्दा पंचमकारको आवश्यकता हुने बताइन्छ र ती पाँच वटा मकारमा एउटा मद्य (मदिरा) हो । तन्त्रका कुराहरू रहस्यपूर्ण भएको र त्यसका लागि मदिराको आवश्यकता आफूहरूको बुझाइभन्दा परको विषयवस्तु भनी स्वीकृति दिने प्रचलन व्यापक छ । बौद्धहरूले दैनिक पालना गर्नुपर्न पंचशीलमा एक शील जाँडरक्सी नखाने पनि हो । तन्त्रका नाममा मदिराको प्रयोगले शील भंग भएको र बौद्ध समाजमा विकृति आएको भनी स्वयं बौद्धहरूले नै पनि आलोचना गर्ने गरेको पाइन्छ । वास्तवमा तान्त्रिक परिपाटीमा पंचमकारले अर्कै अर्थ बोक्दथ्यो तर पछि आफू अनुकूल व्याख्या गर्ने क्रममा मदिरालार्ई पनि समावेश गरियो । नेपालको सन्दर्भमा बौद्धहरूको साधनामा मद्य र मांशको प्रयोगमा शासकहरूले नै प्रोत्साहन गरेको पाइन्छ । शासक वर्गले धर्म संस्कृति बौद्धहरूमाथि लाड्ने क्रममा यस्तो गरेको हो । अहिले जीवहत्या, जाँडरक्सीको प्रयोग मौलिक जस्तै स्थापित हुन पुगेको छ जब कि सद्धर्मपुण्डरिक सूत्र लगायतका ग्रन्थहरूमा यी कुराहरू त्याज्य भनी स्पष्ट उल्लेख पाइन्छ ।

नेवार समाजमा नै प्रचलित अर्को धार्मिक सम्प्रदाय हो– शैव । शाक्त सम्प्रदाय पनि त्यही मात्रामा प्रचलित छ । मुख्यत हिन्दूअन्तर्गत रहेका शैव र शाक्तमा पनि तन्त्र साधनाको कुरा पाइन्छ र पूर्ववत् मदिराको प्रयोग हुने गर्दछ । संस्कृतिका नाममा इन्द्रजात्रालगायत अन्य पर्वमा राज्यले नै मदिराको प्रयोग प्रसादको रुपमा छेलोखेलो गर्ने गर्दछ, जसले राज्य आफ्नै संस्कृति मात्रै नबुझ्ने भनेर त स्पष्ट नै भयो साथसाथै जनताको स्वास्थ्यमा पनि सम्वेदनशील छैन भन्ने कुरा देखाउँछ ।

बज्रयानी बौद्ध, शैव र शाक्त धर्मवलम्बीहरूको बाहुल्यता भएको नेवार समाजमा झट्ट हेर्दा मदिरा  बिना केही नहुनेजस्तो देखिन्छ तर त्यस्तो होइन । सगुनमा रक्सी हुनै पर्छ भन्ने छैन । कथंकदाचित रक्सीसहित सगुन दिइयो भने अनामिका औलाले रक्सीलार्ई तीन पल्ट छर्किदिंदा पनि स्वयं मान्छेले खाएको सरह मानिन्छ । यसरी नै ‘समेबजि’ खाने बेलामा पनि रक्सी खानै पर्छ भन्ने छैन । यसबाट बुझिन्छ, यी क्रियाकलापमा रक्सी अनिवार्य रहेनछ, ऐच्छिक हो । कुनै बेला दर्शैमा बली अनिवार्य रूपमा दिनु पर्ने सोचाइ थियो तर अचेल पशु बली क्रमशः हट्दै गइरहे पनि दशैं नै रोकिएको त छैन । यसै गरी नेवार समाजमा बिना रक्सीका साँस्कृतिक क्रियाकलापहरू पनि बढ्दै छन् ।

मदिरा चढ्ने र नचढ्ने भनी देवताहरू पनि दुई वर्गमा विभाजित छन् । धरानको बूढासुब्वा पहिले चुरोट खान्थे होलान् र पछि उनलार्ई देवताका रूपमा पुजिंदा हाल अन्य कुराजस्तै चुरोट पनि चढाउने गरियो । मदिराको प्रचलन पनि त्यस्तै हुन सक्छ । रक्सी चढ्ने र नचढ्ने पनि समुदाय विशेषमा भर पर्दो रहेछ भन्ने कुराको दृष्टान्त नेवार समाजमा नै देख्न पाइन्छ । भैरव त मदिरा नभइ नहुने भयो तर महादेव र गणेशलार्ई कसैले रगत तथा मदिरा नचढ्ने देवताका रूपमा लिन्छन् भने कसैले न चढ्ने देवताका रूपमा लिन्छन् । यसबाट बुझिन्छ, रक्सीको प्रयोग बहाना मात्रै हो, अनिवार्य होइन ।

समाजमा मदिरालाई संस्कृतिसँग सम्वन्धित गरेर व्याख्या गरिए पनि व्यवहारमा संस्कृति गौण र मदिराको प्रचलन बढी भएको देखिन्छ । संस्कृतिको आडमा मदिराले समाजमा बालबालिकालाई सानैदेखि नै प्रभाव पार्ने गर्दछ । जन्मेको केही महिनादेखि नै रक्सीसँग संगत भएका नेपाली राजनीतिका एक व्यक्तित्व निर्मल लामाको अन्त्यको प्रमुख कारण अत्यधिक रक्सीको सेवन नै थियो र उनी एक प्रतिनिधि पात्र मात्रै हुन्  । ठूलो उमेरकाहरू मात्रै होइनन, बालबालिका रक्सीको कुलतमा फस्नु भनेको धेरै कुराको अन्त्य हुनु हो, जुन नेपालमा सामान्य मानिनु समाज अधोगति तर्फ लागेको संकेत हो ।

लेखकका बारेमा जानकारीका लागि : basantamaharjan.com.np

2 thoughts on “संस्कृतिमा मदिराको भ्रम

  1. जाँडरक्सीको सेवनले मानिसको दिमाग र शरिरलाई लट्ठ बनाउने गर्दछ। दिमाग ले सामान्य तरिकाबाट काम नगरे पछि उ बुद्धि र विवेक नरहेको प्राणी सरह हुन्छ । उसलाई शासन गर्न सजिलो हुन्छ। नेवार लगायत थुप्रै समुदायमा यश बिकृतिलाई संस्कृति को नामबाट निरन्तरता दिईएको छ। सरको लेख राम्रो लाग्यो।

  2. साक्त परम्परामा (खें/ऐला/थ्व/ला) सबै चलाउने गरिन्छ।यो नभइ नहुने या नभएनी हुने भन्ने जुन कुरा छ त्यो सम अनुसार मान्छेको व्यवहारमा हुने हो।कुनै पनि चिजलाइ सहि तरिकाले चलाए औसधि हो गलत तरिकाले चलाए बीष हो।बज्रयानी बौद्ध धर्म परम्परा तन्त्रमा आधारित हुने भएकोले पन्च मकारमा रक्सी अनिवार्य नै हो।मुल रुपमा अब पुरोहित बज्रयानी हो भने उनले आफ्नो पुजा सस्कार गराउदा रक्सी अनिवार्य नै हो।अब थेरावादी हो भने चै यी मन्चमकारको कुरै भएन।बलि लिने सबै देवि देउतालाइ रक्सी चढाउने गरिन्छ र प्रसादको रुपमा लिने गरिन्छ।रक्सी चढाउने भन्दैमा सधै रक्सी जाडमै डुबाएर खुवाएर राख्ने चलन नेवारमा हुदैन।निस्चित चाड पर्व पुजा स्राद्धमा रक्सी जाड मासु चढाउने र खाने हो।खाने लाउने बाहाना को कुरा जो छ त्यो त सबै समुदायमा त्यस्तै त हो ।दसै तिहार जनै पुर्णे सक्रान्ती आदि सबै चाड किन मनाउने?नया लुगा लाउने मीठो खाने रमाइलो गर्ने सधै गर्दा हुन्छ होला नि किन चाड पर्व विशेष नै किन त?सबै कुरामा तर्कै मात्र गर्दै जाने हो भने केही न केही कारणहरु पाइन्छ।तर्कमा जाने कि व्यवहारमा जाने भन्ने कुरा महत्वपूर्ण हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *