0 1 min 3 weeks


दोस्रो लहर झन भयावह भयो

काठमाडौं, १२ भदौ । कोविड-१९ विश्वकै समस्या भएकोले विश्वमै यो विषयमा थुप्रै जिज्ञासा छ, चुनौति छ । यसका बारेमा व्यक्ति, ठाउँ पिच्छे बुझाई फरक फरक हुन सक्छ । यसको बुझाइ फरक होला तर पनि यसको अनुभव र भोगाइ अनुसारको बुझाइ हुन्छ । कोविड-१९ दोस्रो केश नेपालमा भेटिएपछि पहिलो पटक चैत्र ११ गते लकडाउन गरिंदा सबैको मनमा ढ्याङ्ग्रो ठोक्यो । आफ्नै साथीभाईलाई पनि शंकाको दृष्टिबाट हेर्ने, कसैले ख्वाक्क खोक्ने वित्तिकै भाग्ने प्रवृत्ति देखियो ।

दोस्रो लहर आएपछि मैले पोलिटिकल ट्वीष्ट शव्द प्रयोग गरें । यो चरणमा शुरुमा धेरैले कोविड-१९ लाई नजरअन्दाज गरे । कडा लकडाउन र अनजानमा गरिएका धेरै सतर्कताले गर्दा धेरैले गर्दा पहिलो चरणको देखेर केही नहुँदो रहेछ भन्ने भयो । काठमाडौंबाट बाहिर गएका फर्कने र अन्त पनि जाने, चाडपर्वको माहौल र राजनीतिक वातावरणले गर्दा संक्रमण बढ्न थाल्यो । यतिबेला नयाँ भेरियन्ट आएर फटाफट युवाहरु नै अस्पताल दौडाउनु पर्ने भयो । यो पहिलो लहरभन्दा अनपेक्षित भयो । भारतमा संक्रमण बढी देखिएपछि नेपालगंज र काठमाडौंमा देखियो । दोस्रो लहरमा उपचार समयमा नपाएको, बेड नपाएको, अक्सिजन नपाएको कारण मृत्युको निरन्तरताले भयावह अवस्था भयो । यो चरणमा विश्वमा नै ८०/ ९० प्रतिशत डेल्डा भेरियन्टले असर पारेको हो ।

उत्कर्षमा पुगेर तहल्का मच्चिएको बेला म इमर्जेन्सीमैं थिएँ, एक्सरे गराउन जान लागेको मान्छे पुक्लुक्क ढले । चीनमा मात्र देखेको त्यस्तो दृश्य आफ्नै आँखाअगाडि देखेपछि भित्र लगेर उपचार गरियो, बचाइयो । अस्पतालमा एम्बुलेन्स लाइनै हुन्थ्यो । अक्सिजन थिएन, बेड थिएन । पहिलो लहरभन्दा अवस्था ज्यादै फरक थियो, निकै खतरा पूणर् थियो । बृद्धबृद्धालाई बढी कोविड-१९ रोग लाग्छ भनिंदै आएकोमा लगभग ३० वर्ष मुनिका युवा पनि सिकिस्त भएर अस्पताल आए । यो कोविड-१९को पहिलो लहरभन्दा फरक कुरा थियो । लक्षणविहीन पहिलो लहरमा बढी थिए भने दोस्रो लहर झन भयावह भयो । अहिले पनि एक हजार पाँच सयदेखि दुई हजारबढी कोविड-१९ संक्रमित विरामी दैनिक देखिएको छ । अहिले एक हजारभन्दा घटेको छैन ।

सार्सकोप २ (मात्र संक्रमण) र कोविड १९ लाई मिलाएर कोविड-१९भन्ंदै आएका छौं । शुरुमा यसको लक्षण स्वास फेर्न गाह्रो, ज्वारो आदि थियो ।े स्वाद र गन्ध थाहा नपाउनेमा ह्रास आयो । सबैलाई ज्वरो नआउँदो रहेछ । एउटा अनुसन्धानले स्वाद र गन्ध थाहा नहुनेलाई जटिल हुने संभावना कम हुने देखाएको छ, यो सबैमा लागू हुन्छ भन्ने जरुरी छैन ।

कोविड १९ विरामीको उपचारमा अक्सिजन लेभल हेरेर उपचारमा तिब्रता दिन्छौं । अहिले रेमडेसिभिर औषधिको प्रयोग गर्न कम गरिएको छ, स्टेरोइड बढी प्रयोग हुन थालेको छ । यद्यपि चिकित्सकको सल्लाहविना आफैं किनेर खाँदा प्रत्युत्पादक पनि हुन सक्छ । अहिलेको भेरियण्ट कडा भएकोले संक्रमित हुने जोखिम उच्च छ, भ्याक्सिन लिएको छैन भने अझ बढी खतरा छ ।

कोविड १९को तेस्रो लहर आएको छैन
नेपालमा आजको अवस्थामा अल्फा, डेल्टा र डेल्टा प्लस, कापा भेरियन्ट निरन्तर बढिरहेको छ । दोस्रो लहर पूणर् रुपमा सकिएको छैन । तेस्रो लहर आएको छैन । डेल्टालाई अर्को भेरियन्टले प्रतिस्थापन गरेको छैन, त्यसैले तेस्रो लहर आयो भन्न मिल्दैन, आएको छैन । कोविड १९ संक्रमण दर झर्ला कि भन्ने थियो तर भएको छैन । अहिले संक्रमित नभएकोलाई बढी चुनौति छ । अहिलेको भेरियन्ट अप्ठेरो छैन भन्ने होइन ।

यसबाट बच्न हात धुने, सरसफाइका मापदण्ड, भौतिक दूरी, मास्कको प्रयोग नै गर्ने हो । अहिले रुघाखोकी तथा फ्लुले पनि धेरै दुःख दिएको छ । फ्लुका विरामी पनि धेरै छन्, फ्लु भए पनि कोरोना हो कि भनेर तनाव लिने, २-३ पटक पिसिआर परिक्षण गर्ने गरेका छन्, यसले चिकित्सकलाई पनि अप्ठेरो गाह्रो हुने गरेको छ, यद्यपि आफू निश्चिन्त हुन भने सजिलो हुन्छ । अब चाडपर्वको मौसम आउँन लागेकोले फेरि बढी संक्रमण होला कि भन्ने चिन्ता बढेको छ ।

तेस्रो लहरमा बच्चालाई हुन्छ भन्ने गरिएको कुरा मलाई ठीक लाग्दैन । आजको मितिसम्म बालबालिकालाई खोप नभएकोले डर भने छ । बालबालिकाको लागि परीक्षण हुँदै आएको खोप प्रभावकारी भयो, खोप नआउँदा नै अर्को लहर आएमा बालबालिकालाई बढी खतरा हुन सक्छ ।
हामीले निःसन्देह खोप लागाउनु पर्छ । नेपालमा अहिलेसम्म प्रयोग भएको खोप चारवटा ( जोनसोन एण्ड जोनसन, भेरो शिल्ड, कोभिशिल्ड र एस्ट्राजेनिका) नामको छ । कोभिशिल्ड र एस्ट्राजेनिका एउटा नै हो । बृद्ध बृद्धाले कोभिशिल्ड लामो समयपछि मात्र दोस्रो डोज लगाएकोले त्यसको प्रभाव के हुन्छ हेर्न बाँकी छ, कतिपयले १६ हप्ता भन्दा बढीमा लगाए ।

खोप कहिलेसम्म लगाईसक्ने भन्ने कुरा सरकारको कूटनीतिक पहलमा निर्भर रहन्छ । हेर्ने हो भने, नेपालको दुवै छिमेकी देशले खोप उत्पादन गर्दै आएकोले थोरै हात फैलाए पनि पाइन्छ तर खोप पाउने नपाउने भन्ने कुरा सरकारको क्षमतामा भर पर्छ । संसारमैं ठूलो माग भएकोले, नेपाल पनि सानै देशमा गनिने हुँदा विभिन्न च्यानलबाट ल्याउन सक्ने हो भने चाँडै खोप पाइएला । भुटानले सबै खोप लगाएर नेपाललाई सहयोग गर्‍यो । कुटनीतिक पहल नगर्ने हो भने वर्षौ वर्ष पनि लाग्न सक्छ ।

खोपको डोज र एण्टिवडी

कोविड १९ आइसोलेशनबाट अरुलाई सर्दैन भन्ने हो । अलग्गै बसिदिने हो भने भाइरस १० दिनमा शक्तिहीन हुन्छ । सबैले यस्तै गरिदिए हुन्छ जस्तो लाग्छ तर मैले चाहेर मात्र हुन्न । कोविड संक्रमित भन्यो भने अर्कै नजरले हेर्छ कि भनेर अरुलाई नभन्ने कारणले पनि कोरोना नियन्त्रण हुन गाह्रो भएको हो । मानिसहरु घरघरमा कोरोना संक्रमित भएर बसिरहेका छन्, जोखिममा छन् । हामीले बढीभन्दा बढी खोप लगाउन सकियो भने छिटो नियन्त्रण गर्न सकिन्छ । मेरो अनुभवमा इमरजेन्सीमा दोस्रो लहरमा सिकिस्तको अवस्थामा आएका विरामी पनि भ्याक्सिन नलगाएका थिए, अहिलेको विरामी पनि धेरै भ्याक्सिन नलगाएका नै छन् । अमेरिकामा पनि भ्याक्सिन नगलाएका बढी सिकिस्त भएको उदाहरण छ । खोप लगाएको र नलगाएकोमा भाइरल लोड उस्तै हो । खोप लगाएकोले बेवास्ता गर्दा संक्रमण फैलाइरहेकोले सतर्कता अपनाउनु पर्छ । खोप केन्द्रबाट पनि व्यवस्थित रुपमा नहुँदा पनि संक्रमित भएको देखेको छु ।

गफ धेरै गर्दा पनि संक्रमण फैलिएको पाइन्छ । आगामी दिनको अवस्था राम्रै सोच्नुपर्छ । खोप कति लगाउन सक्छौं र कति सतर्कता सहित दैनिकी चलाउछौँ भन्ने आधारमा संक्रमणको अवस्था निर्धारण हुन्छ । आशा गरौं, आगामी दिनमा अर्को लहर नआओस् भन्न्े कोशिस गर्नु पर्छ ।
अक्सिजनको लेभल हामी ९० भन्दा कम हुनुहुन्न भन्छौं तर दमको विरामीको लागि ८८ अक्सिजन लेभल भए पनि नर्मल नै हो । पहिलो डोज लगाएको आठ हप्तामा दोस्रो डोज लगाएँ मैले । पाँच महिनामा लगाए पनि एण्टीबडी नखस्नु पर्ने हो । अक्सफोर्ड युनिभर्सिटीले गरेको पछिल्लो अनुसन्धानले छ महिनासम्म पनि पहिलो डोजबाट असर गर्ने लेखेको छ । मेरो बुझाई चाहिं एण्टीबडी जिरोमा नजाँदै अर्को डोज लगाउनुपर्छ भन्ने हो । दोस्रो खोप लगाएको ६०, ६१ दिनपछि दिंदा पनि एण्टीबडी बनेको देखिएको छ । हामीले एउटामात्र अनुसन्धान होइन, धेरैलाई हेर्नुपर्छ ।

सरकारलाई अनुरोध, खोप चाँडै उपलब्ध गराइयोस् । खोप लगाएको १४ दिनमा एण्टिवडी टेस्ट गर्न पाए राम्रो हुन्छ । खोप लगाउनु भनेको संक्रमित नहुनु होइन, जटिल अवस्थालाई कम गर्ने हो । खोप लगाएपछि एन्टिवडीमा जान्छ र हर्ड इम्युनिटीमा जान्छ । करीव ५० प्रतिशतमा एन्टिवडी भएको सुनेको छु, यो पनि अपुग नै छ । यद्यपि खोप लगाएकाहरु ढुक्क भएर हिंड्ने बढी भएर, संक्रमण भएर अरुलाई पनि सार्न सकिन्छ । अमेरिकामा खोप नलगाएकाले खोप लगाएकालाई कोविड १९ संक्रमण सार्‍यो भनेर आरोप लगाउने गरिन्छ । दुइटा डोज लगाएको भ्रममा धेरै रहनु हुन्न । खोप लगाएकालाई पनि डेल्टाले संक्रमण गर्‍यो भने भाइरल लोड बढी नै हुन्छ ।

कागजबाट कोरोना फैलने, थुक लगाएर कागज-पैसा पल्टाउने गरिएको खण्डमा भाइरस सर्न सक्छ, कुनमा कति रहन्छ भन्ने कुरा भन्न गाह्रो छ, सबैमा लागू हुने फरक हुन्छ । कुनै कुरा छोएपछि साबुन पानीले हात नधोइ तनाव लिनुभन्दा हात धुँदा तनाव जिरोमा जान्छ । साबुनले हात धोएपछि तनाव सकियो ।


अक्सिमिटरको गुणस्तर र बुष्टर डोज
गुणस्तरहीन अक्सिमिटर प्रयोग गरेर अस्पताल दौडिने थुप्रै छन् । मैले नै दुई वटा अक्सिमिटर दुइटा औंलामा लगाउँदा दुइटा रिजल्ट देखायो । यस्तो संवेदनशील विषयमा गुणस्तरको निकायले बजार अनुगमन गर्नुपर्छ । तेस्रो डोज खोप भनेको बुष्टर डोज हो । यो एण्टिबडी खस्केपछि दिइने गरिन्छ । तर यो, तेस्रो चौथो डोज दिने कि नदिने भन्ने बारेमा कुरा अगाडि बढेको छैन । अंग प्रत्यारोपण गरेकाका विरामीको लागि भने यो चाहिन्छ । विभिन्न औषधिले असर गर्ने हुँदा उनीहरुलाई तेस्रो डोज आवश्यक पर्छ । अंग प्रत्यारोपण गरेकोमा कोविड संक्रमण भएको अवस्थामा भ्याक्सिन लगाएको भन्दा नलगाएकोमा ५ गुणा खतरा हुँदो रहेछ । छ महिना भयो लगाएकोहरुको अनुसन्धान गर्ने प्रयास गरेको । बुष्टर डोज किन भन्ने प्रश्न पनि गरेका छन् । कोभिशिल्डको एक डोजले पनि धेरै सहयोग गरिएको छ । इम्युन सिस्टम कमजोर भएका, क्यान्सरका विरामीलाई दिंदा औषधिले चाँडै रियाक्सन नगरेको कारण तेस्रो डोज दिनु पर्ने हुनसक्छ । इम्युन सिस्टम नै बाहिरी भाइरसले आक्रमण गर्दा डिफेन्स गर्ने सिस्टम हो । त्यसैले इम्युन सिस्टम बलियो बनाउनुपर्छ ।


पोष्ट कोविडलाई सरकारले सम्बोधन गर्नुपर्‍यो
कोविड निको भईसक्दा पनि स्वास फेर्न गाह्रो हुनेलगायतका थुप्रै पोष्ट कोविडको विश्वव्यापि समस्या रहेछ । कोविड १९ संक्रमणले शरीरमा पारेको प्रभाव रहिरहन सक्छ, धेरै चिन्ता लिएर पटक पटक पिसिआर गर्न आउँछन्, त्यो छुट्टै कुरा भो । स्मरणशक्ति कमजोर हुने समस्या पनि धेरै छ । काठमाडौं बाहिर एकजनाले स्वयंसेविकाले प्रश्न उठाइन्- फोन नम्बर नै बिर्सने । फोनमा कुरा गरिहाल्यो भने भने आफूले कुरा गर्न खोजेको मान्छे थियो कि थिएन भनेर दोधारमा पर्ने । डाक्टरहरुले नै पनि भरखर यहीं किताव राखेको खै भन्ने गर्नु हुन्थ्यो ।

पोस्ट कोविड, सास फेर्न गाह्रो हुने, थकाई लाग्ने, बिर्सने, हातखुट्टा झम्झमाउने, पेट गडबड हुने, कपाल झर्नेजस्ता धेरै खाले समस्या देखिएका छन् । नयाँ र फरक समस्या आउँने क्रम बढी छ । समस्या आउँदा तत्तत् डाक्टरसँग उपचार तथा परामर्श पनि लिने गर्नुपर्छ । यद्यपि यो विश्वव्यापि समस्या भएकोले ठाउँ बनाई दिन सक्यो भने राम्रो हुन्छ, सरकारले । यसको व्यवस्था हुनुपर्छ । पोष्ट कोविडलाई सरकारले सम्बोधन गर्नुपर्‍यो । केही मानसिक समस्यालाई मेडिटेशन आदिबाट पनि निको गर्न सकिन्छ होला भन्ने गरेको छु ।

दुवै फोक्सो विग्रनुभन्दा बढी ‘डेन्जर’ के हुन्छ ?
चाडपर्व आ-आफ्नो घरमा मनाउने, रमाउने गरौं, यो कुरा मैले अघिल्लो वर्षमा पनि भनेको थिएँ । खोप लगायो भन्दैमा बेवास्ता नगरौं, सर्दै जानु भनेको नियन्त्रण गर्न गाह्रो हुनु हो । कसैलाई कोरोना लागेर जटिल अवस्थामा पुर्‍याउने काम हामी आफैंले गरेको त छैन भन्ने सोचेर मास्क, दूरी कायम गरेर न्यू नर्मल अवस्थालाई ध्यान दिएर काम गर्नुपर्छ ।

व्यवस्थित किसिमले हिंड्ने हो भने लकडाउन र भ्याक्सिन पनि चाहिंदैन भन्छु म त । यो लडाई हो, लडाईं हुँदा सबै नागरिक मर्दैनन, तर हामी बच्नको लागि भाग्ने हो, लुक्ने हो । बच्चा बेलामा लगाइने विभिन्न खोपले भोलि केही नहोस् भनेर हो नि । दोस्रो चरणको उत्सकर्षमा पुग्दा खोप लगाउन नमान्नेको एक वृद्धको दुवै फोक्सो ड्यामेज भयो । खोप किन नलगाएको बुबा भनेर सोध्दा ‘डेन्जर हुन्छ रे’ भने, दुवै फोक्सो विग्रनुभन्दा बढी ‘डेन्जर’ के हुन्छ ? हामी मानव जाति हौं सचेत हुनु पर्छ । आजको दिनमा खोप निर्विकल्प उपाय हो । ढोका लगाएर बस्ने भन्ने होइन, भौतिक दूरी कायम गरेर, खाने बेलामा गफ नगरेर सतर्कता अपनाउन सक्छौं ।

बच्चालाई कसरी सुरक्षित राख्ने ?
सकेसम्म बच्चालाई मास्क चलाउन नदिने, हात धुने । स्तनपान गराउने बच्चालाई संक्रमित आमाले भेट्नै पर्ने भएमा, दूध खुवाउन परेमा मास्क लगाएर, हात साबुन पानीले धोएर छोटोसमयको लागि भेट्ने गर्नुपर्छ ।

एक अथवा दुईटा कोठामा सीमित परिवारलाई आइसोलेशनमा बस्नु पर्ने अवस्था आउनुभनेको ठूलो समस्या हो । यो कुरा पहिलो लहरदेखि नै भन्दै आएको हो । दुई मिटरको दूरी कायम गर्ने । झ्याल खुल्ला गर्ने, हात साबुनपानीले धुने गर्दा पनि सर्ने सम्भावना कम रहन्छ । हात सफा गर्न विभिन्न खाले स्यानिटाइजरको धेरै कुरा थाहा छैन तर साबुनपानी सबैभन्दा राम्रो हो । जतिबेला पनि स्यानिटाइजर छर्कनु राम्रो होइन ।
कोविड संक्रमण दोस्रो पटक हुनेहरु पनि छन् । कोविड दोहोरिएको घटना अमेरिकामा ३५ प्रतिशत, बेलायतमा १० प्रतिशत भएको देखाएको छ तर सबैलाई हुन्छ भन्ने छैन ।


(१४औं पुस्तकालय दिवसका सन्दर्भमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक)को संयुक्त आयोजनामा ‘कोविड१९ प्यान्डामिकः करेन्ट सिनारियो एण्ड फ्युचर च्यालेन्जेज’ विषयक अन्तरक्रिया कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, क्लिनिकल युनिट प्रमुख डा. शेर बहादुर पुनले राख्नु भएको विचारको संक्षेपीकरण ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *