0 1 min 3 weeks


हरिकासी गुरूङ तथा चिंकुमारी गुरूङ थुचुक्क बस्नमात्र पुग्ने ठाउँ ओगटेर घाटु नाच नाच्दै थिए । त्यत्तिकैमा बास्तविक घाटु नाच देखाइने भनियो । र, उनीहरूभन्दा अगाडि बसेका घाटु नाचका गुरुहरूले मादल बजाउन थाले । मादल एक क्षणमात्र बजेको थियो, मादलको तालमा बसेरै नाचिरहेका दुवैजना युवती पालैपालो बेहोस भए, वातावरणमा सन्नाटा छायो । बेहोस भएका घाटु नर्तकीहरूलाई नजिकै बसेका महिलाहरूले पूरै छोपिदिए ।

छोपिएको करीव ५ मिनेटपछि दुबै नर्तकीहरूको होस खुल्यो र गुरुको घाटु गीत र मादलको तालमा उठेर नाच्न थाले । नाच्ने क्रममा उनीहरूको मुहार निकै आक्रोशित देखिन्थ्यो । यद्यपि नाच्दै गरेका महिलालाई दर्शकदीर्घाबाट जिस्क्याउन शुरु भयो । जिस्क्याउन थालेपछि नाच्दानाच्दै आएर आफ्नो सकेजछि बल लगाएर जिस्क्याउनेहरूलाई नर्तकहिरूले कुट्दा रहेछन् । र, यो कुटाईलाई रमाइलो. गर्ने एक बहानाको रुपमा लिईंदो रहेछ, स्थानीय वासिन्दाहरूले । उल्लेखित दृश्य हो, नायुङ गाउँ, लम्जङको घाटु नृत्यको । पहिलो पटक हेर्नेहरूका लागि यो नृत्य रोमाञ्चक हुँदाे रहेछ ।

नायुङ गाउँकी हरिकासी गुरूङ करीव १३ वर्षदेखि घाटु नाच्न थालेकी हुन् । यस्तै उनकी भाउजु चिंककुमारी गुरूङले पन िसानै उमेरदेखि नाच्न थालेकी हुन् । गुरूङ गाउँका थुप्रै महिलाहरू घाटु नाच्छन् तर प्रकृया पुर्‍याएर नाच्न सक्ने भने निकै थोरै रहेको स्थानीय बासिन्दा बताउँछन् । यी थोरैको कोटीमा पर्ने गरेका छन्, यी नन्द भाउजु ।

हरिकासी भन्छिन्- रहरले नाचेको होइन, सरस्वतीले छोपेपछि बाध्य भएर नाचेको हो । नाच्दा पनि रिस उठिरहेको हुुन्छ, जो आगाडि आउँछ उसलाई कुटौं जस्तो लाग्छ ।’ नाच्ने क्रममा देखिने आक्रोश नाचको अन्त्य भएको जनाउदिंदै गुरुले पानी पिउन दिएपछि अन्त्य हुने र पानी पिएपछि मात्र उनीहरू यथार्थ दुनियामा आउने गरेको बताइन्छ । दुबै युवतीले त्यसै गरे ।

हरिकासीकाअनुसार सानैमा (रजश्वला नहुँदै) मागी विवाहमा छोरी माग्न आएजस्तै घाट नचाउन गुरुले घरघर गएर छोरी माग्न जान्छन् । विभिन्न विधिविधान गरी घाटु नाच्न योग्य छ, छैन भन्ने हेरिन्छ । अर्थात, विभिन्न चोखोनीति गरेर एकसरो लुगा लगाइदिई गोबर लिपेको ठाउँमा बसाइन्छ । यसरी बसाएपछि घाटु गीत गाउँन र मादल बजाउन थाल्छन् । मादल बजाउँदा तथा गीत गाउँदा ती बालिका बेहोस भइन् भने घाटु नाच्न योग्य मानिन्छ र बेहोस् भइनन् भने योग्य मानिन्न । ५६ वर्षिया चिंककुमारी नाच्ने नर्तकीले कुनै मन्त्र सिकेको नहुने बताउँछिन् । उनी भन्छिन्- ‘मन्त्र दिइन्न, गीतले नै घाटु आउँछ । सानो बेलामा परीक्षण गर्दा मुख छोप्न लगाएर लोटामा पानी हाली हेर्न लगाइन्छ । यसरी हेर्दा केही देख्दैनन् र झुल्न थाल्छन् । झुल्नेहरूमात्र विधिपूर्वक घाट्ु नाच्न सक्छन् ।’

गुरूङहरूको यो परम्परागत नृत्यलाई अहिले पर्यटन प्रवद्र्धनमा प्रयोग गर्न थालिएको छ । स्थानीय संस्कृति प्रवद्र्धन गर्दै पर्यटनलाई आय आर्जनको एउटा बाटो बनाएका ग्रामिण बस्तीका लागि आफ्नो मनोरञ्जनात्मक संस्कृति पनि आयको माध्यम भएको छ ।
पछिल्लो समय परम्परागत संस्कृतिलाई पर्यटन प्रवद्र्धनमा लगाउन थालिएअनुसार लुप्त हुन थालेको संस्कृति पनि उजागर हुन थालेको पाइन्छ । उनीहरूले आफ्नो भेषभुषा, मनोरञ्जनका साधन, खानपानलगायतका कुरालाई जगेर्ना गर्दै सामुदायिक रुपमा पर्यटन प्रवद्र्धनमा लाग्न थालेका छन् ।

आफ्नो गाउँमा पर्यटक भएका बेला सांस्कृतिक भवनमा भेला भएर सांस्कृतिक कार्यक्रममा सहभागी हुनु पर्यटन कार्यक्रममा सहभागी भएका प्रत्येक परिवार आफ्नो दायित्व सम्झन्छन् । सोही दयित्वअनुुसार आफ्नो सांस्कृतिक मनोरञ्जन पर्यटकलाई पस्कने क्रममा आफ्ना नव पुस्तालाई पनि हस्तान्तरण तथा सिकाई रहेका हुन्छन् । यो ग्रामिण पर्यटनको आकर्षण पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *