0 1 min 4 weeks

श्रावण शुक्ल पूर्णिमाका दिन हिन्दूहरुले जनै फेर्ने प्रचलन छ। यही परम्परालाई महत्व दिएर चाडको नाम जनैपूर्णिमा राखिएको छ। यस दिन रक्षाबन्धन पनि गरिन्छ।

नेवार समाजमा यो दिनलाई ‘गुंपुन्हि’ भनेर चिनिन्छ। विभिन्न गेडागुडी मिसाएर ‘क्वाति’ पकाइने भएर ‘क्वाति पुन्हि’ पनि भनिन्छ। ठाउँ र समाज हेरी अलग अलग सांस्कृतिक गतिविधि गरिन्छ। त्यसमध्ये एउटा ‘ब्यांजा नकेगु’ पनि हो।

‘ब्यांजा नकेगु’लाई नेपाली भाषामा शब्दानुवाद गरेर ‘भ्यागुतालाई भात खुवाउने’ भनिएको हो। नेवार समाजमा पनि यो दिनलाई भ्यागुतालाई भात खुवाउने अर्थमा नै बुझिन्छ। तर, केही यस्ता प्रश्न पनि छन्, जसमाथि गम्भीर रुपमा सांस्कृतिक चिन्तन गर्न सकिन्छ।

भ्यागुता वर्षासँग सम्बन्धित जीव हो। रोपाइँ गर्ने समयमा पानी नपर्दा भ्यागुता कराएर वर्षाको देवता मानिने इन्द्रसँग पानी माग्ने चलन कतिपय समाजमा छ। मान्छेलाई भ्यागुता बनाएर घुमाउने चलन पनि छ। भ्यागुताको बिहे गराइदिए पानी पर्छ भन्ने विश्वास पनि पाइन्छ।

पन्ध्र दिनअघिको ‘गथांमुगः’ पर्व रोपाइँ सम्पन्न भएपछि मनाइन्छ। भ्यागुतालाई भात खेती सप्रियोस् भन्ने कामना गरेर खुवाइन्छ। यो दिन बिहानै घरमा लिपपोत गरेपछि भ्यागुतालाई भात खुवाउन पूजा कोठामा आवश्यक बन्दोबस्त गरिन्छ।

भ्यागुतालाई भात खुवाउन विशेषतः ‘ब्यांचास्वां’ भनिने विशेष फूलको पात प्रयोग हुन्छ। त्यो नभए अवस्थामा सिमी (फे सिमी) तथा अन्य पात भए पनि हुन्छ। यस दिन घरमा पाक्ने भात र ‘क्वाति’ का साथै रोटी र फलफूलका टुक्रा भ्यागुताका लागि तयार गरिन्छ।

देवीदेवताको पूजा गर्न देवस्थल जाँदा पूजासामग्री राख्ने ‘कलः’ मा ती जम्मै सामग्री हालिन्छ। अनि खेतमा गएर एक ठाउँमा पूजास्थल बनाइन्छ। त्यहाँ पहिला पूजा गरेर पातमा भात, क्वाति, रोटी र फलफूल राखेर चढाउने चलन छ। यसरी नै घरको पिखालखु (प्रत्येक घरको मूलढोका अगाडि रहने भेलु देवताको स्थान) र मूल ढोकामा मात्रै अथवा सबै ढोका र झ्यालमा समेत दायाँ बायाँ भागमा चढाउने पनि गरिन्छ।

भ्यागुतालाई भात खुवाउने सांस्कृतिक पर्वलाई ‘रुद्रयामल तन्त्र’ ले गथांमुगःसँग जोडेको पाइन्छ, जुन तर्कसंगत व्याख्या होइन। उक्त ग्रन्थअनुसार गथांमुगः एक राक्षस हुन्। तर, यसलाई नेवार समाजले राक्षस भूत मान्छ।

बाहिरबाट आएको उक्त राक्षसको अत्याचारबाट सबै त्राहीमाम् थिए। एउटा भ्यागुताले राक्षसको क्षमतालाई चुनौती दिंदै दलदलमा फसाइदिएको र पछि मान्छेहरुले ढुंगाले हानेर मारिदिएको विश्वास छ। भ्यागुताको यही गुणलाई कदर गरी वर्षमा एकपल्ट भात खुवाउने चलन शुरु भएको मानिन्छ।

तर, एघारौं–बाह्रौं शताब्दीपछि मात्रै रचना गरिएको उक्त ग्रन्थले प्राचीन समयदेखि चल्दै आएका मौलिक सांस्कृतिक विषयवस्तुलाई सही रुपमा प्रस्तुत नगरेको देखिन्छ। जसरी गथांमुगःका सम्बन्धमा उक्त ग्रन्थ भरपर्दो स्रोत होइन, त्यसरी नै भ्यागुताका सन्दर्भमा पनि भरपर्दो छैन।

यो पर्वलाई रोपाइँका बेला कोदाली तथा अन्य सामग्री चलाउँदा र कुल्चेर मरेका विभिन्न कीट पतङ्गको नाममा पिण्डदान गरेको पनि भनिन्छ। तर ‘ब्यांजा नकेगु’ नाम किन रह्यो भन्ने प्रश्न अहं हो। भ्यागुताको आहार भात वा ‘क्वाति’ जस्ता कुरा नभएर किराफट्याङ्ग्रा नै हुन्। किराफट्याङ्ग्रा खाएर धानबाली राम्रो पारिदिऊन् भनेर भ्यागुतालाई भात खुवाएको भन्ने अनुमान पनि त्यति बलियो होइन।

भ्यागुतालाई भात खुवाउने काम मुख्य रुपमा खेतमा नै गर्ने हो। तर, खेतका अलावा प्रत्येकको घरमा पनि किन यही विधि पूरा गरिन्छ भन्ने अर्को प्रश्न छ। खेत नभएकाहरु यो विधि घरमा मात्रै सम्पन्न गर्छन्।

‘ब्यांजा नकेगु’ भनेर भ्यागुतालाई नै भात खुवाउने बुझाइ रहेपनि यो कालान्तरमा अर्थान्तरण हुन पुगेको छ। कतिपय सांस्कृतिक अभ्यासको मौलिक तात्पर्य नै विस्मृतिमा पुगेपनि त्यसको अवशेष भने जीवित हुन्छ। यस्तो अवस्थामा अनेक अर्थ लगाएर आफूअनुकूल प्रस्तुत गरिन्छ। यो परम्पराको नाम अतीतमा बेग्लै भएको र अपभ्रंश हुन पुगेको पनि अनुमान गर्न सकिन्छ।

नेवार समाजको यो सांस्कृतिक परम्परा कुनै धर्म विशेषसँग भने सम्बन्धित छैन। यो परम्परा न अन्य समाजमा पाइन्छ न कुनै शास्त्र विशेषमा नै उल्लेख छ। त्यसकारण हिन्दू वा बौद्ध धर्मले प्रवेश पाउनुअघि नै नेवार सामाजिक जीवनमा ‘ब्यांजा नकेगु’ परम्परा दरोसँग बसिसकेको थियो र अहिलेसम्म यसको अभ्यास हुँदै आइरहेको छ।

यो परम्परा आधुनिक समयमा डगमगाएको देखिन्छ। यस संस्कृतिको सूक्ष्म अध्ययन गर्न सक्ने हो भने यसले नेपाली समाजको अत्यन्त प्राचीन जीवन दर्शन थाहा पाउने माध्यम बन्नसक्छ ।

(पहिलाे पल्ट हिमालखबर डटकममा १९ साउन, २०७७ मा प्रकाशित । मूल प्रकाशनमा पढ्न यहाँ क्लिक गर्नु हाेला)

लेखकका बारेमा थप जानकारी basantamaharjan.com.np

Leave a Reply

Your email address will not be published. Required fields are marked *